२०८२ असार १६ गते, सोमबार २०:०८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • लागुऔषध र हातहतियार बरामद: मकवानपुरको राक्सिराङ–१ मा राजु स्याङतानको घरबाट दुई थान पेस्तोल, ३० राउण्ड गोली, २.७ किलो अफिमजस्तो पदार्थ, र २२.८ किलो गाँजा फेला परेको छ।
  • थप फेला परेका सामग्री: स्याङतानको घरबाट ५०० मिटर टाढा अर्को कटुवा पेस्तोल, ५ गोली र १.४८ किलो अफिमजस्तो पदार्थ पनि बरामद गरिएको छ।
  •  पक्राउ र अनुसन्धान: स्याङतानलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको छ, प्रहरीले अवैध कारोबारविरुद्ध कडा कारबाही गर्ने जनाएको छ।

हेटौंडा-

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा प्रहरीले एक व्यक्तिको घरबाट ठूलो मात्रामा लागुऔषध र हातहतियार बरामद गरेको छ। विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले राजु स्याङतानको घरमा खानतलासी गर्दा पेस्तोल, अफिम, गाँजा र गोली फेला पारेको हो।

प्रहरीका अनुसार, स्याङतानको सुत्ने कोठाको सिरानीमुनि कपडामा बेरेर लुकाइएको ७.६५ एम.एम. युनिभर्सल मेड इन इटाली लेखिएको पेस्तोल १ थान, २ म्यागजिन (एक पेस्तोलमा र एक खाली), र १३ राउण्ड गोली बरामद गरिएको छ। त्यस्तै, गोठको दोस्रो तलामा मकैको खोस्टा र पत्करभित्र लुकाइएको १ थान कटुवा पेस्तोल, ८ एम.एम. लेखिएको १२ राउण्ड गोली, १ किलो ३१० ग्राम अफिमजस्तो गिलो पदार्थ, र २२ किलो ८०० ग्राम गाँजा फेला परेको छ।

थप अनुसन्धानका क्रममा स्याङतानको घरबाट करिब ५०० मिटर टाढा चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लाष्टिक र सेतो बोरामा लुकाइएको अर्को १ थान कटुवा पेस्तोल, ५ राउण्ड गोली, र १ किलो ४८० ग्राम अफिमजस्तो पदार्थ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। बरामद सबै सामग्री नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो घटनाले स्थानीय क्षेत्रमा लागुऔषध र अवैध हातहतियारको कारोबारप्रति चिन्ता बढाएको छ। प्रहरीले यस्ता गतिविधिविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस