♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
सिरहा–
सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा १२ वर्षीय बालक राजन रामको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सिरहा नगरपालिका–६ का झबुलाल महराका छोरा राजनलाई आज बिहान १०:३० बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो।
प्रहरी र स्थानीयका अनुसार, डा. सुदेशकुमार यादवले बालकको स्वास्थ्य परीक्षण गर्दा रगतको मात्रा अत्यधिक कम भएको पाइएको थियो। तत्काल रगत चढाउन सुझाइए पनि अस्पतालको ब्लड बैंकमा रगत नभएको जानकारी दिइयो। रगत अभावकै कारण बालकको मृत्यु भएको भन्दै आफन्त र गाउँलेले अस्पताल प्रशासन र चिकित्सकमाथि लापरबाहीको गम्भीर आरोप लगाएका छन्।

मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले अस्पताल अगाडि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेकर छन्। अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बालककी आमा सुनिता महरा मृत्युको खबरपछि अस्पताल परिसरमै अचेत भएकी छन्।
वडा न .।बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पतालको चरम लापरबाहीले बालकको ज्यान गएको बताए। उनले भने, “पटक–पटक सेवा सुधारको माग गर्दा पनि बेवास्ता गरियो। आज एक बालकको ज्यान गयो, यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ।” अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।