काठमाडौं –
बाढी पूर्वानुमान महाशाखाले देशका ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडीलगायतका जिल्लाका स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम छ।
यस्तै, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका नदीहरूमा पनि बाढीको सम्भावना रहेको छ।

सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्लाका स–साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएको छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्ने सम्भावना छ। ती नदीका तटीय क्षेत्रमा सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।
गएको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर वर्षा भएको छ, जुन निकै ठूलो वर्षा हो। कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। मधेशबाहेक अन्य प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ।