२०८२ असार २३ गते, सोमबार १८:०५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मादक पदार्थ सेवन र गालीगलौज: जयमोद ठाकुरले वीरगन्जको स्वास्थ्य कार्यक्रममा मादक पदार्थ सेवन गरी पत्रकार राजु बैठा, अर्जुन चौधरीमाथि अपशब्द प्रयोग र दुर्व्यवहार गरे, पकाउ डरले फरार।
  • स्वास्थ्यकर्मीको आक्रमण प्रयास: पत्रकारहरूले मादक पदार्थ सेवनको प्रश्न उठाउँदा ठाकुर आक्रोशित, केही स्वास्थ्यकर्मीले आक्रमणको प्रयास। स्थानीयले ठाकुरमाथि शक्ति दुरुपयोगको आरोप।
  • पत्रकार महासङ्घको कारबाही माग: नेपाल पत्रकार महासङ्घ पर्साले ठाकुरविरुद्ध जाहेरी दर्ता, मापसे जाँच र कडा कारबाही माग। कारबाही नभए आन्दोलनको चेतावनी।

वीरगन्ज-

पर्सा स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरी पत्रकारहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। आइतवार वीरगन्जको क्लासिक ब्यांक्वेटमा स्वास्थ्य कार्यालयद्वारा आयोजित स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा ठाकुरले पत्रकारहरूलाई अपशब्द प्रयोग गर्दै अपमानजनक व्यवहार गरेका थिए। पकाउ पर्ने डरले उनी एक बिचौलियाको सहयोगमा कार्यक्रम स्थलबाट फरार भएका छन्।

आइतवार दिउँसो साढे ३ बजेको समयमा क्लासिक ब्यांक्वेटमा चलचित्र पत्रकार सङ्घले आयोजना गरेको एक कार्यक्रम र स्वास्थ्य कार्यालयको अभिमुखीकरण कार्यक्रम एकै स्थानमा सञ्चालन भइरहेको थियो। पत्रकार राजु बैठा भुलवश स्वास्थ्य कार्यालयको कार्यक्रममा प्रवेश गरेपछि ठाकुर आक्रोशित भई उनलाई गालीगलौज गर्न थाले। पत्रकार अर्जुन चौधरीका अनुसार, ठाकुरको अस्वाभाविक व्यवहार देखेपछि मादक पदार्थ सेवनको प्रश्न उठाउँदा उनी थप आक्रोशित भए र पकाउ पर्ने डरले फरार भए।

घटनापछि केही स्वास्थ्यकर्मीहरूले समेत पत्रकारहरूमाथि आक्रमणको प्रयास गरेको बताइएको छ। स्थानीयहरूले ठाकुरले आफूलाई सूचनाको हकको अभियन्ता र पत्रकारको रूपमा प्रस्तुत गर्दै शक्तिको दुरुपयोग गर्ने गरेको आरोप लगाएका छन्।

आक्रोशित पत्रकारहरूले ठाकुरलाई नियन्त्रणमा लिएर मादक पदार्थ सेवन जाँच (मापसे) र कानुनी कारबाहीको माग गरेका छन्। नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरू राजु बैठा, अर्जुन चौधरी, आरोहण साहसहितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन्। महासङ्घले दोषीमाथि कडा कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत अधिकृतले कार्यालय समयमा मादक पदार्थ सेवन गरी पत्रकारमाथि दुर्व्यवहार गर्नुले स्वास्थ्य क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय बासिन्दाले यस्तो व्यवहार निन्दनीय भएको भन्दै ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन्। एक स्थानीयले प्रश्न गरे, “स्वास्थ्य सम्बन्धी तालिम दिने व्यक्ति नै नशामा उत्रिन्छ भने यस्तो कार्यक्रमको प्रभावकारिता कस्तो होला?”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रलाई घटनाबारे जानकारी गराइसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस