२०८२ असार २८ गते, शनिबार १०:०३

जनकपुर-
मधेस प्रदेशसभाको बैठक तेस्रो दिन पनि विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, र नागरिक उन्मुक्ति पार्टीले तीन दिनदेखि सदन चल्न दिएका छैनन्।

बजेटमा विचौलियाको हस्तक्षेपको आरोप

आजको बैठकमा राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंह, जसपाकी किरणकुमारी शाह, माओवादी केन्द्रकी शारदा पहाडी, र एकीकृत समाजवादीका प्रमोद यादवले शून्य समयमा बोल्दै बजेटमा विचौलियाको हाबी भएको आरोप लगाए। उनीहरूले बजेट पुनर्लेखन नभएसम्म सदन चल्न नदिने अडान लिए।

यसको जवाफमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताए। “सदन सञ्चालन भएपछि मात्र बजेटका कमजोरीमाथि छलफल गर्न सकिन्छ,” उनले भने।

तर, सभामुख रामचन्द्र मण्डलले विरोधका बीच बैठक सञ्चालन हुन नसक्ने भन्दै स्थगित गरे। अर्को बैठक बुधवार दिउँसो १:०० बजे बस्ने तय भएको छ।

नागरिक उन्मुक्तिद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीकी एकमात्र सांसद उर्मिलादेवी सिंहले आजको बैठकमा यो निर्णयबारे सदनलाई जानकारी गराइन्। यसअघि जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकार गठन हुँदा नागरिक उन्मुक्तिले समर्थन गरेको थियो।

विपक्षी दलहरूको निरन्तर अवरोध र नागरिक उन्मुक्तिको समर्थन फिर्ताले मधेस प्रदेश सरकारमाथि दबाब बढेको छ। बजेट पुनर्लेखनको माग र सरकारको स्थिरतामाथि प्रश्न उठ्दा प्रदेशको राजनीतिक अवस्था थप जटिल बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस