२०८२ असार २९ गते, आईतवार १९:११

कपिलवस्तु –

काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुवाहक बस बुद्धभूमि नगरपालिका–९ वेलनदी नजिकै पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ४ बजे अनियन्त्रित भई पल्टिँदा २६ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार घाइतेमध्ये सल्यान बागचौर–१० का ७७ वर्षीया देवी बुढाथोकी, सल्यान शारदा–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर–११ का ३५ वर्षीय श्रीधर अधिकारीको अवस्था गम्भीर छ। उनीहरूलाई बिहान ५:१५ बजे बुटवल रिफर गरिएको छ। बाँकी २३ घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूमा रुकुम पश्चिम, सोलुखुम्बु, सल्यान, दाङ, अर्घाखाँची, रोल्पा, पर्वत, डडेलधुरालगायतका विभिन्न जिल्लाका यात्रु छन्। प्रारम्भिक अनुसन्धानले चालकको लापरवाही वा निद्रा कारण हुन सक्ने देखाएको छ। विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लामो दूरीका सवारीमा दुर्घटना जोखिम बढिरहेकाले चालकहरूलाई सतर्कता अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस