सिरहा-

सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी ग्राम पञ्चायत बिरपुर–९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार उनको साथबाट करिब ५० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
शनिबार दिउँसो करिब पौने ४ बजे भारततर्फबाट बीआर–३२–एम–७३३८ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका पासवानलाई सिरहाको नवराजपुर गाउँपालिका–४ कुसण्डीमा प्रहरीले रोकेपछि भाग्ने प्रयास गरेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्यामसुन्दरमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।