♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –

सात दलीय नेतृत्वमा गठित संघीय लोकतान्त्रिक मोर्चाले आइतबारबाट सुरु गरेको जागरण अभियानमा जनमत पार्टी सहभागी नभएपछि मोर्चासँगको सम्बन्धविच्छेद भएको खुलेको छ।
रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा जनमतलाई उम्मेदवारी नदिँदा अध्यक्ष डा. सीके राउत नेतृत्वको जनमत पार्टी असन्तुष्ट हुँदै मोर्चाबाट अलग्गिएको संकेत दिएको स्रोतले जनाएको छ। मोर्चाले असार १२ गते बसेको बैठकबाट रुपन्देही–३ मा साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो। तर उम्मेदवारी नपाएपछि जनमत पार्टीले अलग्गै उम्मेदवार उठाउने तयारी गरेको छ।
एक महिनासम्म चल्ने जनजागरण अभियानमार्फत मोर्चाले वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी जानकारी गराउने जनाएको छ। अभियानको क्रममा काठमाडौं, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरधाम र वीरगञ्जमा कार्यक्रम हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
अभियान उद्घाटन कार्यक्रममा मोर्चाअन्तर्गतका नेताहरूले मधेशी, जनजातिलगायत समुदायले राज्यबाट बराबरको अधिकार नपाएको भन्दै संविधान संशोधन र अधिकार प्राप्तिका लागि संयुक्त रूपमा दबाब सिर्जना गर्ने आवश्यकता औंल्याए। जसपा अध्यक्ष उपेन्द्र यादवले विभेद अन्त्य नभए विद्रोह हुने चेतावनी दिँदै सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले समर्थन फिर्ता लिएको स्पष्ट पारे। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान बनाउनमै खतरा देखिएको टिप्पणी गर्दै संशोधन कठिन भएको बताए।
यस्तै, राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत नेताहरूले पनि सबै समुदायको अधिकार सुनिश्चित हुने साझा संविधान र ठोस निर्णयमार्फत मोर्चालाई सशक्त बनाउनुपर्ने धारणा राखे।
गत चैतमा गठित मोर्चामा जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।