काठमाडौं–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको निवेदनमाथिको बहस सकिएको छ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार न्यायाधीश नारायण सापकोटाको इजलासमा आज बहस सम्पन्न भएको हो। यससम्बन्धी आदेश आजै आउने सम्भावना रहेको बताइएको छ।
लामिछाने गत चैत २५ गतेदेखि बुटवलस्थित सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन्। चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
तर लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै साउन १९ गते फेरि जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए। अब आदेश आएपछि उनको थुनाबाट मुक्त हुने वा नहुने टुंगो लाग्नेछ।