जनकपुरधाम—
जनकपुरधाम उपमहानगरपालिका–४ मा चार कट्ठा जग्गाको स्वामित्व र प्रयोग अधिकारलाई लिएर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल बार एसोसिएसनमा आबद्ध वकिलबीच मंगलबार विवाद चर्किँदा हातपातसम्म पुगेको छ।
वकिलहरूले पत्रकार महासंघका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निरालामाथि हातपात गरेका छन्। यस क्रममा महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ।
विवाद गुठी संस्थानको जग्गा लिज प्रक्रियाबाट सुरु भएको हो। जेठ ७ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरेका थिए। मूल्याङ्कनपछि पत्रकार महासंघको प्रस्ताव स्वीकृत भई साउन २ गते सूचना प्रकाशित भयो। साउन ९ गते गुठी संस्थानले सम्झौताको लागि पत्र पठाएपछि साउन १९ गते २० वर्षका लागि ४ कट्ठा जग्गाको लिज सम्झौता भएको थियो।
महासंघले मंगलबार उक्त जग्गामा तारबार लगाउने काम सुरु गर्दा वकिलहरूले यो स्थान आफूहरूको पार्किङस्थल भएको दाबी गर्दै रोक्न खोजेपछि विवाद झगडामा परिणत भएको हो।