२०८२ श्रावण २९ गते, बिहीबार १९:२६

काठमाडौँ –

कैलाली कारागारमा साउन २२ गते भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। यस विषयमा बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री बालकृष्ण लेखकले जानकारी दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ र समितिले आफ्नो प्रतिवेदन दिएपछि दोषीमाथि कानूनी कारबाही गरिने बताए। मृतक कैदीको शव कानूनी प्रक्रिया पूरा गरी परिवारलाई सुपुर्द गरिएको छ।

कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी ६४३ जना पुरुष र महिला, र अर्को ब्लकमा ४७ जना महिला गरी कुल ७०० जना कैदी रहेका छन्। झडप राति दुई ब्लक छुट्याउने पर्खाल तोडेर भत्काएपछि भएको थियो, जसमा कैदीबन्दीहरूले ब्लक बी का बन्दीहरूलाई कुटपिट गरेका थिए।

घटना पछि अस्पतालले रिफर गरेका तीन घाइतेलाई काठमाडौं ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि सुरक्षित कारागारमा पठाइएका छन् भने ४१ जना अझै अस्पतालमै उपचाररत छन्।

कारागारमा शान्ति सुरक्षा कायम गर्न विशेष खानतलासी गरिएको, द्वन्द्वरत समूहका १७ नेताहरूलाई अन्यत्र सरुवा गरिएको र प्रमुख जिल्ला अधिकारीबाट निरीक्षण गरी आवश्यक कदम चालिएको पनि बताइएको छ।

गृहमन्त्री लेखकले कारागारको स्थिति अहिले सामान्य रहेको र कुनै समस्या नभएको जनाउँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने कुरामा सुरक्षा पक्षले प्रतिबद्धता जनाएको बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस