२०८२ श्रावण २९ गते, बिहीबार १२:३७

बारा-

बाराको पचरौता नगरपालिका–७ बेनौलीमा बुधबार करेन्ट लागेर ६० वर्षीय गुलाब राय यादवको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यादव आफ्नै धान खेतमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए र उपचारका लागि कबही लैजाने क्रममा बाटोमै मृत्यु भएका हुन्।

प्रहरीका अनुसार, स्थानीय संजय पटेल र जिमदार मुखियाले खेतमा पानी तान्नका लागि नाङ्गो विद्युत् तार जडान गर्ने क्रममा यादव करेन्टको सम्पर्कमा आएका थिए। घटनास्थलमा प्रहरी चौकी पिपरपाती र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट टोली खटिएको थियो।

प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, मृतक यादवले केही दिनअघि प्रहरीमा संजय पटेल र जिमदार मुखियाविरुद्ध असुरक्षित विद्युत् जडानको विषयमा जाहेरी दिएका थिए। उनले विद्युत् तारको अव्यवस्थित प्रयोगले जनजीवनमा जोखिम बढाएको बताएका थिए।

स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा पानी तान्न प्रयोग हुने विद्युतमा सुरक्षा मापदण्डको बेवास्ता भइरहेकाले यस्ता दुर्घटना बारम्बार हुने गरेको बताएका छन्। यसअघि पनि सो क्षेत्रमा असुरक्षित तार र विद्युत चुहावटका कारण मानिस तथा पशु घाइते भएका घटना घटिसकेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ र दोषी व्यक्तिमाथि कानुनी कारबाही हुने जनाएका छन्। स्थानीयहरूले विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस