२०८२ भाद्र १ गते, आईतवार २२:०२

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ ।

मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको उहाँले बताउनु भयो । हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उहाँले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवि वर्गले गर्ने दाबी गर्नुभयो । सबैभन्दा नविनतम राजनिति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उहाँको भनाई छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अब समाजको नेतृत्व सामान्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गर्नुभयो । नयाँ भनेर अरु क्रिम पाउडर लगाएर आएकाहरुको पनि राजनितिमा खासै अर्थ नभएको उहाँको भनाई छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरुले आफ्नो औचित्य पुष्टी गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको वाहक भनेको राजनितिक दलहरु हुन्, यी दलहरुले आफ्नो औचित्य सावित गर्न सकेनन् । हामी मजदुर किसानको प्रतिनिधि भन्छौँ तर उनीहरुको प्रतिनिधि बनेको औचित्य हामीले सावित गर्न सकेनौँ भने अब त्यो खालको रिक्तता रहँदैन, अर्को आउँछ । यो नियम हो । तर हामीलाई प्रतिस्थापन गर्न हामी भन्दा क्रान्तिकारी विचारधारासहित आउनुपर्छ । हावा कुरा गरेर, लक्ष्य बिनाका कुरा गरेर, रणनिति बेगरका कुरा गरेर, स्टन्ट गरेर आउनेहरुले चाहीँ हामीलार्ई प्रतिस्थापन गर्न सक्दैनन् । यदी त्यस्तो प्रतिस्थापन कहीँ भयो भने त्यो दुर्भाग्य हुनेछ ।’ 

उहाँले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्र्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताउनु भयो । उहाँकाअनुुसार पार्टीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनिति अगाडी सार्नुपर्ने थियो । तर आफूहरु सतही कुरामा नै रुमल्लिएर बसेको उहाँको भनार्ई छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, नयाँ रणनिति अगाडी सार्नुपथ्र्र्यो, त्यो सार्नको लागी शास्त्रीय अर्थमा भन्दाखेरी हामीले लेलिन र रोजा, ग्राम्छी र चे ग्वाभारा जस्ता माक्र्सवाद माथी योगदान गर्ने नेताहरुलाई यहाँ ल्याउनपथ्र्यो । तर हामी कहाँ के बहस भयो भन्दाखेरी विद्रोह गर्ने कि संविधान लेख्ने भन्ने असाध्यै सतही कुरामा हामी अल्मलियौँ । हामीले एउटा नयाँ बाटो दिनुपथ्र्यो । हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरु चाहीँ फेरेपछि अब मजदुर किसानको राजनिति वर्चश्व कायम गर्ने खालको अर्र्को लार्ईन लिनपथ्र्यो । त्यो लाईनमा स्वभाविक रुपमा हामी चुक्यौँ ।’ 

सबैभन्दा बढी महत्व अक्षर, ज्ञानलाई दिनुपर्र्नेमा माओवादी पार्टी त्यसमा चुकेको उहाँले बताउनु भयो । युग अनुकुल, समय अनुकुलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताउनु भयो । तर आफुले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उहाँले बताउनु भयो ।

नेपाल १९९० देखि नै विश्व पुँजीबादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उहाँको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाईएको उहाँले बताउनु भयो । राजनितिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उहाँको आरोप छ । समाजवादको बीज अंकुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उहाँले बताउनु भयो । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘आज पनि नेपालमा नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीले शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने हाम्रो ठूलो प्रतिवाद त पार्टी भित्रै हुन्छ । जसले शिक्षाको व्यापार गरिरहेका छन्, स्वास्थ्यको व्यापार गरेर लाभांश लिइरहेका छन्, तिनीहरु नै पहिला विरोधमा आउँछन् । त्यो सँगसँगै विश्व पुँजीबाद अगाडी आउँछ । त्यो सजिलो छैन । त्यसले ठूलो तनाव, संघर्ष सिर्जना गर्छ ।’ 

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरु चुकेको उहाँले बताउनु भयो । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उहाँको भनाई छ । त्यो दलाल तन्त्रलाई भत्काउन सजिलो नभएको उहाँले बताउनु भयो । उहाँले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारमा गएपछि मजदुर किसानको पक्षमा के के विल ल्यायौँ त ? कतिवटा विद्ययेक चाहीँ पास गरायौँ त ? नेपालमा वामपन्थीहरु धेरै वर्षदेखी सत्तामा छन् । नेपाली काँग्रेस पनि आफूलाई समाजवादी भन्छ । तर नेपालमा नेपालको शिक्षालाई फेर्ने विधेयक आयो ? नेपालको शिक्षा प्रणाली परिवर्तन भयो त ? नेपालको स्वास्थ्य प्रणाली फेरियो त ? फेरिएको छैन ।’

पार्टी विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघठन गर्न सक्नुपर्ने बताउनुभएको छ । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उहाँको भनाई छ । पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सक्नुपर्ने भन्दै उहाँले विघठन गर्न सकिएन भने पुनःगठन गर्न नसकिने बताउनु भयो । पार्टीलार्ई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उहाँको जोड छ । कार्र्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरुको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल हुने उहाँको भनाई छ । कम्युनिष्ट आन्दोलनमा यस्तो हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको, सत्ताको कुनैपनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरु हुन्छ । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रुपमा र आंशिक रुपमा विघटन गर्न सक्नुपर्छ । विघठन गर्न सकिएन भने पुनःगठन हुँदैन । यो जीवनको नियम हो ।’ 

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ शिराबाट पुनःगठन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उहाँको भनाई छ । कर्मकाण्डी महाधिवशेन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उहाँले बताउनु भयो । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उहाँको भनाई छ । उहाँले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताउनु भयो । मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भईरहेको उहाँको भनाई छ । उहाँले यो अन्तरविरोधलाई महाधिबेशनमा लगेर महाविवादको रुपमा चलाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

कार्यकारी भुमिकामा निरन्तर रहनुहुँदैन 
उहाँले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिनुभयो । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने उहाँको भनाई छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाई गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उहाँले बताउनु भयो । युवा नयाँ उत्साह भएकाहरुलाई पदाधीकारी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्ने गरी संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताउनुु भयो । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उहाँले पूरै कार्यदिशा, रणनिति र नेतृत्व फेर्नुपर्ने आवश्यकता  औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भुमिका निर्वाह गर्नुपर्छ । हामी कार्यकारी भुमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाई गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन । जसले ईतिहासमा एउटा भुमिका खेलिसकेको छ । त्यो भुमिका खेल्नेहरुले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारी चाहीँ हामी युवालाई, नयाँ उत्साह भएकाहरुलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्नसक्छौँ । नेतृत्व दिनुसक्छौ । त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।’ 

पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उहाँको भनाई छ । यस्तै उहाँले पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस