काठमाडौँ –
काठमाडौँको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरी काठमाडौँ ल्याउँदै गरेको कार्यालयले जनाएको छ।
साउन २७ गते सेन्चुरीले आफ्नी पत्नी २७ वर्षीया ललिता विकलाई ‘घुम्न जाऊँ’ भन्दै कञ्चन कोशी होटल एन्ड लज, गोङ्गबुमा लगेर हत्या गरेका थिए। हत्या पछि शवलाई बक्स पलङमुनि लुकाएर उनी होटलबाट फरार भएका थिए।
घटना लुकाउने उद्देश्यले उनले साउन २८ गते प्रहरी वृत्त महाराजगञ्जमा पत्नी हराएको भन्दै निवेदनसमेत दिएका थिए। तर साउन ३० गते राति गेस्ट हाउसमा शव भेटिएपछि उनी पर्सा भागेका थिए।
हाल सेन्चुरीलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।