वीरगन्ज-
वीरगन्जबाट तीन महिलालाई भारततर्फ लैजाने क्रममा प्रहरीले उद्दार गरी मानव बेचबिखनमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकै सडकखण्डमा तीन महिलालाई सकुशल उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब निरीक्षक किशोर लम्सालका अनुसार पीडितहरूलाई हेटौडाबाट गाडी चढाइ वीरगन्ज ल्याई अटोमार्फत भारतको रक्सौलतर्फ लैजाने क्रममा उद्दार गरिएको हो । प्रारम्भिक अनुसन्धानमा गोरखा नगरपालिका–४ निवासी २८ वर्षीया सरिता सिर्मलले पीडितलाई राम्रो काम लगाइ दिने, नयाँ लत्ताकपडा किनिदिने, विवाह गर्ने र पैसा दिने प्रलोभन देखाएर ल्याएको खुलेको छ ।
प्रहरीले सिर्मललाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।