वीरगन्ज –
नेपाल–भारतका प्रभावशाली राजनीतिज्ञ तथा विषयविज्ञहरू भोलि ७ गते शनिबार वीरगन्जमा भेला हुँदैछन् । प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई)को आयोजनामा हुने सो कार्यक्रम दिवंगत समाजवादी चिन्तक प्रदीप गिरिको तेस्रो वार्षिकीको अवसर पारेर आयोजना गर्न लागिएको हो।
उद्योग वाणिज्य संघ पर्साको हलमा हुने कार्यक्रममा नेपाल र भारतका वरिष्ठ नेता, विश्लेषक तथा समाजका विज्ञहरू सहभागी हुनेछन्। कार्यक्रम उद्घाटनसहित चार सत्रमा विभाजित गरिएको पीजीआई अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले जानकारी दिनुभयो।
झाका अनुसार कार्यक्रमको उद्देश्य प्रदीप गिरिको जीवन, विचार, सामाजिक न्याय, समावेशी राजनीति, करुणा, नैतिकता तथा सीमापार ऐक्यभाव जस्ता मूल्यमा गहन मन्थन गर्नु रहेको छ।
उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेता रमेश रिजाल, अनिल रूङ्गटा, जनार्दन सिंह क्षेत्री, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम, नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष सुधिर कर्ण, भारतीय महावाणिज्य दूत डीएस मिना र प्रदीप गिरिका सहोदर शेखर गिरिले सम्बोधन गर्नेछन्।
पहिलो सत्र ‘किन नागरिक समाज र सञ्चारमाध्यमलाई प्रदीप गिरिको खाँचो महसुस हुन्छ ?’ शीर्षकमा हुनेछ । यसमा राजनीतिशास्त्री हरि शर्मा, पत्रकार चन्द्रकिशोर, विश्लेषक सुचेता प्याकुरेल र समाज अध्येता डा. भाष्कर गौतम सहभागी हुनेछन्।
दोस्रो सत्र ‘प्रदीप गिरि : मनैदेखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी, जसले लोकतन्त्र बाँच्यो’ विषयमा हुनेछ । यसमा माओवादी केन्द्रका सचिव राम कार्की, भारतीय कंग्रेसका पूर्वमहासचिव मोहनप्रकाश, लेखक कैलाश राई तथा चुनावी रणनीतिकार समृद्ध घिमिरे सहभागी हुनेछन्।
अन्तिम सत्र ‘नेपाल, भारत र सीमाञ्चल : युवा, संस्कृति र पहिचानको राजनीति’ शीर्षकमा हुने छ । यसमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, भारतीय जनता पार्टीका नेता डा. संजय जैसवाल, आरजेडी सांसद सुधाकर सिंह, साउथ एसियन युनिभर्सिटी दिल्लीकी सह–प्राध्यापक डा. मल्लिका शाक्य र पीजीआई अध्यक्ष कञ्चन झा सहभागी हुनेछन्।
कार्यक्रमको साझेदार उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमले भव्य र उपलब्धिमूलक कार्यक्रम हुने दाबी गर्नुभयो। उहाँले दर्शकको चापलाई मध्यनजर गर्दै हलबाहिर पनि एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
आयोजकका अनुसार सीमाञ्चललाई बाधा नभई सेतुको रूपमा हेर्ने प्रदीप गिरिको धारणा तथा नेपाल–भारतबीचको साझेदारी र सांस्कृतिक सम्बन्धमा आधारित छलफलले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने विश्वास लिइएको छ।