वीरगन्ज —
वीरगन्जमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधि तथा स्वास्थ्य सामग्री वितरण नगरी एकद्वार नीति अपनाउन निर्देशन दिनुभएको छ । उहाँले हैजालाई “हौवा” बनाएर व्यवसायिक फाइदा उठाउने प्रवृत्तिबाट सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास देखिएको भन्दै सिंहले सरकारले नै परीक्षण किट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
वीरगन्जमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले हैजा नियन्त्रणका सबै गतिविधि एकीकृत प्रयासमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी अस्पतालहरूले पनि समान मापदण्डअनुसार उपचार सेवा दिनुपर्ने बताए । उहाँका अनुसार मन्त्रालयको टोलीले महानगरको समन्वयमा निजी अस्पतालहरूको अनुगमन गर्ने तयारी गरेको छ र आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछ ।
स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्नु आवश्यक नपर्ने स्पष्ट पार्नुभयो । “एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि त्यस्तै लक्षण देखिएका अन्य बिरामीलाई बारम्बार परीक्षण गर्नु पर्दैन, बरु उपचारमा ध्यान दिनुपर्छ,” भन्दै उहाँले स्वास्थ्यकर्मीहरूलाई उपचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
यसैबीच, हैजाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगन्ज आउनुहुने कार्यक्रम छ । उहाँ दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने र त्यहाँ निरीक्षणपछि महानगर र सरोकारवालाहरूसँग विशेष छलफल गर्ने तयारी रहेको छ ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगन्जमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचार गतिविधिहरूको नजिकबाट अनुगमन गरिरहेको छ ।