वीरगन्ज-
पर्सा जिल्लामा हैजाको प्रकोप बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा ९३ जनामा हैजा (कोलेरा) को सङ्क्रमण पुष्टि भएको हो ।
वीरगन्ज महानगरको स्वास्थ्य शाखाले बेलुका ६ बजे सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक सङ्ख्यामा संक्रमित नारायणी अस्पताल र तराई अस्पतालमा भेटिएका छन् । दुवै अस्पतालमा ३२–३२ जना संक्रमित भेटिएको तथ्याङ्क छ ।
त्यसैगरी नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थ केयरमा ३ जना, अली अर्था अस्पतालमा २ जना तथा मङ्गलम प्याथोलोजीमा ३ जना संक्रमित भेटिएका छन् ।
यस्तै, नारायणी सेन्ट्रल अस्पताल, एडभान्स मेडिकेयर अस्पताल, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी वायोधा अस्पताल र सर्वोत्तम अस्पतालमा एक–एक जनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीहरूले वीरगन्ज क्षेत्रमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । महानगरपालिका र सम्बन्धित निकायले पानी शुद्धिकरण, सरसफाइ र स्वास्थ्य सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने चेतावनी समेत दिएका छन् ।