२०८२ भाद्र ११ गते, बुधबार २०:५०

पर्सामा हैजाको फैलावट : नयाँ संक्रमित पोखरियामा भेटिए

वीरगन्ज —

पर्सामा हैजाको संक्रमण थप फैलिएको छ। वीरगन्ज महानगरपालिकापछि अब पोखरिया उपमहानगरपालिकामा पनि हैजा संक्रमित भेटिएका छन्।

अस्पतालका अनुसार मंगलबार झाडापखाला लागेर उपचारका लागि आएका तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक बालक र दुई जना पुरुष रहेका छन्। तीमध्ये एकजनालाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ। अस्पतालले दिएको जानकारीअनुसार, पुष्टि भएका तीनै जना वीरगन्जका बासिन्दा हुन् र केही दिनअघि मात्रै पोखरिया आएका थिए।

पोखरिया अस्पतालमा दैनिक सात जनाभन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क छ।

यसैबीच, वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप अझै बढ्दै गएको छ। महानगरमा संक्रमितको संख्या ११५ पुगेको छ। मंगलबार साँझदेखि बुधबार बिहानसम्म थप १ जनामा संक्रमण पुष्टि भएपछि संख्या बढेको हो।

महानगरको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म झाडापखाला र हैजाबाट ग्रसित २२७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार, वीरगन्जका विभिन्न अस्पतालमा ४९३ जना झाडापखालाका बिरामी भर्ना भएका छन्। तीमध्ये ३८ जना आईसीयूमा र ३ जना एचडीसीयूमा उपचाररत छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस