रौतहट —
रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ।
बुधबार बिहान आत्महत्याको प्रयास गर्दै शरीरमा मट्टितेल खन्याई आगो लगाएका पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।
रुबी साहको हत्या गरी फरार रहेका पासवानलाई बुधबार बिहान माधोपुर गाउँनजिकै जलेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनलाई तत्कालै स्थानीय अस्पतालमार्फत उपचारका लागि पठाइए पनि अनुहारलगायत शरीरको ठूलो भाग गम्भीररूपमा जलेको हुँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।
शनिबार साँझ गौरस्थित ‘रुबी ब्युटी पार्लर’मा फेसियल गर्न गएकी रुबी आइतबार बिहान सुटकेसभित्र मृत अवस्थामा फेला परेकी थिइन्। गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मा बेवारिसे अवस्थामा फेला परेको सुटकेस खोल्दा उनको शव भेटिएको थियो। अनुसन्धानमा पासवानलाई मुख्य आरोपीको रूपमा पहिचान गरिएको थियो।
प्रहरीका अनुसार पासवानले मृत्युको प्रयास गर्नु अघि ९ मिनेट लामो भिडियो खिचेका थिए। भिडियोमा उनले रुबीको हत्या स्वीकार गर्दै “मेरो जान मरिसकेकी छन्, म बाँचेर के गर्नु, पक्राउ परे जेल जानुपर्छ, सजाय भोग्न तयार छु” भनेर बताएका थिए। विद्यालय पढ्ने समयदेखि नै उनी र रुबीबीच सम्बन्ध रहेको र यही सम्बन्धका कारण पछिल्ला दिनमा विवाद भई घटना घटेको प्रहरीले जनाएको छ।
१४ वर्षअघि पनि पासवानले रुबीलाई अपहरण गरेको आरोपमा पक्राउ परी १७ दिन प्रहरी हिरासतमा बसेको तथ्य उजागर भएको छ।