२०८२ भाद्र १२ गते, बिहीबार १९:४७

वीरगन्जको सिद्धार्थ माविमा प्रधानाध्यापकको आर्थिक चलखेल, कानुन मिचेर आफ्नै खेल !

“प्रमुख राजेशमान सिंह समेत मौन”

वीरगन्ज –

वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा प्रधानाध्यापक बिनोद मेहतामाथि आर्थिक चलखेल गरेको गम्भीर आरोप लागेको छ । सोही आरोप सार्वजनिक गर्न वीरगन्ज–१४का वडा अध्यक्ष महबुब एलाही अंसारीले बिहीवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै विद्यालय र शैक्षिक प्रणालीमा मौलाउँदै गएको आर्थिक भ्रष्टाचारको पर्दाफाश गरेका छन् ।

वडा अध्यक्ष अंसारीका अनुसार, आठ महिना अघि विद्यालयमा नियुक्त भएका प्रधानाध्यापक मेहताले विद्यालयको लेखा र आर्थीक शाखालाई कानुनी प्रक्रिया बाइपास गर्दै विद्यालय परिसरबाहिरै सटर भाडामा लिएर ‘प्रियांसी पुस्तक एण्ड स्टेशनरी’ नामक पसलमार्फत गैरकानुनी रूपमा विद्यार्थीहरूबाट ठेक्के शैलीमा रकम असुल गर्ने कार्य गर्दै आएका छन् ।

‘प्रियांसी पुस्तक एण्ड स्टेशनरी’

विद्यार्थीहरूबाट ६ देखि ७ हजार रुपैयाँसम्म असुल गरिएको र त्यो रकम विद्यालयको आधिकारिक खातामा जाने गरेको अंसारीले आरोप लगाए ।

अंसारीले यस विषयमा बारम्बार वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा र महानगर प्रमुख राजेशमान सिंहलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको र बरु आफूलाई नै अपमानजनक शब्द प्रयोग गरिएको दाबी गरेका छन् ।

उनले भने –“शैक्षिक संस्था नै आर्थीक शोषणको अखाडा बनाइयो । यो काण्ड महानगरका उच्च तहसम्मको मिलेमतोबिना सम्भव छैन । तलदेखि माथिसम्म सबैले हिस्सा खान्छन् भन्ने प्रष्ट हुन्छ ।”

अध्यक्ष अंसारीले वीरगन्जको शैक्षिक क्षेत्रमा माफियागिरी मौलाएको आरोप लगाउँदै, खुलेआम चलिरहेको गैरकानुनी असुलीमा प्रमुख, शिक्षा शाखा प्रमुखलगायत जिम्मेवार निकायले आँखा चिम्लिएको स्थिति शंकास्पद रहेको बताए ।

उनले थपे –“महानगरपालिकाले शिक्षामा आमूल सुधार गरेको दाबी गरे पनि वास्तवमा शिक्षा क्षेत्र आर्थिक चलखेलको केन्द्र बनेको छ । यस्तो अवस्थामा विद्यार्थी र अभिभावक दुवै ठगिएका छन्।”

विद्यार्थी र अभिभावक ठगिँदा पनि राज्य किन मौन छ ?

 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस