वीरगन्ज-
मन्त्री र मेयरलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेकी बाराको कैलैया उपमहानगरपालिका–२६ निवासी किरण साह ८ दिनपछि धरौटीमा रिहा भएकी छन् । पर्सा जिल्ला अदालतका माननीय न्यायाधीश कमलकान्त जोशीको इजलाशले बिहीबार साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न प्रहरीलाई आदेश दिएको हो ।
खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको अभियोगमा गत भदौ ११ गतेदेखि पक्राउ परेकी किरण साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न पर्सा जिल्ला अदालतका न्यायाधीश जोशीले प्रहरीको नाममा आदेश दिएको अदालतका सूचना अधिकारी रामनेश महतोले जानकारी दिनुभयो ।
वीरगन्जमा फैलिएको झाडापखालाका विषयमा खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोन गरी गुनासो गर्ने क्रममा ज्यान मार्ने धम्की दिएको अभियोगमा किरणलाई प्रहरीले पक्राउ गरेको थियो । खानेपानी मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहले दिएको उजुरीका आधारमा किरणलाई प्रहरीले पक्राउ गरी, विद्युत् ऐन, सांसदलाई ज्यान मार्ने धम्की लगायतका तीन वटा मुद्दा किरणमाथि लगाउँदै थुनामा राखी अनुसन्धान गर्दै आएको थियो ।
मन्त्री र मेयरलाई प्रश्न गरेकै कारण किरण थुनामा परेको विषयले देशभरि चर्चापरिचर्चा पाएको थियो भने यो विषयले हिजो मात्र प्रतिनिधि सभामा समेत प्रवेश गरेको थियो ।