२०८२ भाद्र २४ गते, मंगलवार १८:३३

वीरगन्जमा गोली चल्यो

वीरगन्ज-

वीरगन्जको घण्टाघर चोकमा प्रहरीले गोली चलाएको छ। घण्टाघर चोकको पश्चिममा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकीमा युवाहरूको समूहले आगजनी गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो।

प्रहरी चौकीमा प्रदर्शनकारीहरूले पेट्रोलबम प्रहार गरी आगजनी गर्ने प्रयास गरेपछि प्रहरी र चौकीको सुरक्षाका लागि ठूलो हतियारबाट एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले जानकारी दिनुभयो। उहाँले वीरगन्जका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन गरिरहेको र केही स्थानमा आगजनी गर्ने प्रयास भएको समेत बताउनुभयो।

प्रदर्शनकारीहरूले वीरगन्ज–२४ रामगढमा अवस्थित नेकपा एमाले पार्टीको कार्यालयमा समेत आगजनी गरेको एसपी मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार शान्ति–सुरक्षाको स्थिति कायम गर्न वीरगन्जको मुख्य सडकदेखि भित्री गल्लीसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ।

“जेनेरेसन–जेड (Gen Z) पुस्ताको आन्दोलन” मा सहभागी भएका प्रदर्शनकारी युवाहरू र प्रहरीबीच वीरगन्जका विभिन्न स्थानमा दोहोरो ढुङ्गा हानाहान भएको बताइएको छ।

वीरगन्जको सुरक्षा स्थिति बिग्रँदै गएकाले यहाँ सञ्चालित सबै शैक्षिक संस्था बन्द गरिएको छ। यो समाचार तयार पार्दासम्म वीरगन्जमा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस