वीरगन्ज–
शान्ति–सुरक्षाको अवस्था चिन्ताजनक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयानाथ सुवेदीले मंगलबार अपराह्न एक विज्ञप्ति प्रकाशित गर्दै बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म लागू गरिएको कर्फ्यूलाई अर्को आदेश नआएसम्म निरन्तर जारी रहने जानकारी दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यू आदेशअनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम, वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ। उक्त क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, बैठक तथा घेराउ गर्ने कार्य निषेध गरिएको छ।
प्रशासनले एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारवादी, पर्यटक तथा कूटनीतिक नियोगका सवारीसाधनलाई आवागमनको अनुमति दिएको छ भने अन्य सबै सवारीसाधनलाई निषेधित क्षेत्रभित्र प्रवेशमा रोक लगाइएको छ।