काठमाडौं –
करिब चार घण्टादेखि जारी जेनजी समूहको भर्चुअल बैठक (जुम) ले तत्कालका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकार गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा सहभागी युवाहरुले कार्कीलाई प्रधानसेनापतिसँगको वार्तामा जाने उपयुक्त व्यक्तित्वका रुपमा स्वीकार गर्दै उनको नाम सर्वसम्मत रुपमा अघि बढाउने निर्णय गरेका हुन् । सहभागीहरुले भने, “सुशीला कार्कीको नाममा नोटिस निकालौँ, उनको नाम डन भयो, अब अनाउन्स गरौँ ।”
चर्चाक्रममा हालको परिस्थितिमा कार्कीभन्दा अर्को सक्षम व्यक्ति नभएको भन्दै उनको नेतृत्वलाई सर्वमान्य ठहर गरिएको थियो । साथै, भर्चुअल छलफलमा बालेन्द्र साह र सागर ढकाललाई पनि सम्भावित टोलीमा समावेश गर्न सकिने सुझाव आएको थियो ।
जेनजीले नेतृत्व सर्वमान्य, निष्कलंक र सबैले पत्याउने खालको हुनुपर्ने अडान लिएको छ । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्ता गर्ने तयारीबारे कुरा खुलेको थियो।