२०८२ आश्विन १ गते, बुधबार १८:४६

जेनजी आन्दोलन : देशभर ६३३ घाइते, २५ जनाको मृत्यु पुष्टि

काठमाडौं –

जारी जेनजी आन्दोलनका क्रममा हालसम्म ६३३ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३८७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १९६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये ५० जनालाई थप उपचारका लागि अन्य अस्पतालमा स्थानान्तरण गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म २५ जनाको मृत्यु पुष्टि भएको छ।

देशव्यापी प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न अस्पतालमा घाइतेको चाप बढेको छ। दुई दिनअघि सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि एकैपटक धेरै घाइते पुग्दा अन्य बिरामीको स्वास्थ्य सेवा पनि प्रभावित भएको थियो।

पाटन अस्पतालमा मात्रै ३३ जनाको उपचार गरिएको छ, जसमा ६ देखि ७ जनाको सफल शल्यक्रिया सम्पन्न भएको अस्पताल निर्देशक डा. रवि शाक्यले जानकारी दिए।

राष्ट्रिय ट्रमा सेन्टरमा हाल ६७ जना घाइते उपचाररत छन्। मंगलबार मात्र ४० जना घाइते पुगेका थिए, जसमा ७ जनाको अवस्था गम्भीर छ र उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ। सोमबारको आन्दोलनमा २७ जना घाइते भएका थिए भने ८ जनाको मृत्यु भएको थियो। ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले घाइतेको उपचारलाई प्राथमिकता दिँदै जनशक्ति दोब्बर बनाएर व्यवस्थापन गरिएको बताए।

यस्तै, त्रिवि शिक्षण अस्पतालमा ४४ जना घाइते उपचाररत छन्। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार तीमध्ये एक जना आईसीयूमा छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस