काठमाडौं –
सेनासँग वार्तामा जुटिरहेको जेनजी समूहभित्र नेतृत्वको विषयलाई लिएर आन्तरिक मतभेद चर्किएको छ। बुधबार साँझ भद्रकालीस्थित जंगी अड्डामा पुगेका जेनजी प्रतिनिधिमध्ये एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति असन्तुष्टि जनाउँदै बालेन शाह र हर्क साम्पाङलाई नेतृत्वमा ल्याउनुपर्ने माग गरेका हुन्।
वार्ताका लागि १५ भन्दा बढी प्रतिनिधि जंगी अड्डा पुगेपछि सेनापति प्रशुराम सिग्देलले संयोजक तोकी मात्र वार्तामा आउन आग्रह गरेका थिए। त्यसपछि जेनजी सदस्यहरूबीच आन्तरिक बैठक भएको थियो। बैठकमा केही सदस्यले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रस्ताव राखेपछि रक्षा बम नेतृत्वको समूह असहमति जनाउँदै बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ।
यसअघि बुधबार दिनभर सामाजिक सञ्जाल ‘डिस्कर्ड’मार्फत नेतृत्वबारे व्यापक छलफल भएको थियो। धेरै सदस्यले सुशीला कार्कीलाई समर्थन गरे पनि केहीले बालेन शाह र हर्क साम्पाङजस्ता युवाहरूले नेतृत्व लिनुपर्ने धारणा राखेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम समेत अगाडि सारिए पनि उनी प्रत्यक्ष सम्पर्कमा नआएको भन्दै केही सदस्यले गुनासो गरेका थिए। तर मंगलबार बेलुकी बालेनले सामाजिक सञ्जालमार्फत जेनजी समूहलाई सेना प्रमुखसँग वार्तामा तयार रहन आह्वान गरेका थिए।
हाल जेनजी समूह र सेनाबीच विभिन्न चरणमा वार्ता भइरहेको छ। वार्ताबाट ठोस निष्कर्ष आएपछि राष्ट्रपतिसँग औपचारिक संवाद हुने तयारी भएको जनाइएको छ।