२०८२ आश्विन २ गते, बिहीबार १२:५७

महामन्त्री गगन थापाद्वारा भदौ २३ घटनाप्रति माफी, युवापुस्तासँग सहानुभूति व्यक्त (भिडियो सहित )

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालैको भदौ २३ घटनाप्रति युवा पुस्ताप्रति गहिरो सहानुभूति व्यक्त गर्दै आफ्नो असफलताका लागि माफी मागेका छन्। एक भिडियो सन्देशमार्फत उनले युवाहरूको आक्रोश र निराशालाई स्वीकार गर्दै न्याय, जवाफदेहिता र संवैधानिक दायराभित्र रहेरै परिवर्तनको आह्वान गरेका छन्।

महामन्त्री थापाले विशेषगरी भदौ २३ गते १९ जना युवाको ज्यान गएको घटनालाई ‘अपराध’को संज्ञा दिँदै यसको जिम्मेवारीका लागि सार्वजनिक रूपमा क्षमा याचना गरेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेको तर तत्कालीन नेतृत्वको सुनुवाइ नभएको बताए।

थापाले आफ्नो व्यक्तिगत पीडा पनि साझा गर्दै भने कि भदौ २४ गते उनका घरमा नाराबाजी, ढुङ्गामुढा र आगजनी प्रयास भए, तर उनले मारिएका युवाहरूको परिवारको पीडा सम्झेर आफ्नो व्यक्तिगत दुःखलाई गौण बनाएका छन्।

भिडियो-

महामन्त्री थापाले युवापुस्ताले उठाएका मुद्दामा पूर्ण समर्थन रहेको बताउँदै भदौ २३ को हत्याकाण्डको छानबिन, दोषीको सजाय, २०४६ सालपछिका भ्रष्टाचार काण्डको छानबिन र अख्तियारजस्ता संस्थाहरूको पारदर्शिता सुनिश्चित गर्न आवश्यक रहेको बताए। उनले संविधानको निरन्तरतामा जोड दिँदै संवैधानिक ढाँचाभित्र रहेर सुधारको आह्वान गरे।

थापाले आफ्नो पार्टी नेपाली कांग्रेसलाई मूलभूत रुपमा सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै युवाहरूमाथि भरोसा राखेको बताए। उनी भविष्यमा ‘ब्याक बेन्च’बाट पार्टी सुधारमा लाग्ने र युवालाई नेतृत्व सम्हाल्ने अवसर दिन तयार रहेको पनि उल्लेख गरे।

उनले सबै नेपालीलाई संयमित, धैर्यवान र संवेदनशील भई देशको भूराजनीतिक र आन्तरिक विविधतालाई मध्यनजर राखेर अघि बढ्न आग्रह गरे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस