पर्सा –
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देशमा उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा युवाहरू सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामापछि कुनै पनि सरकार नरहेको अवस्थाले अस्थिरता बढाउने र वर्तमान व्यवस्था खारेज गर्ने चलखेल हुन सक्ने भन्दै खबरदारी गरेका हुन्।
युवाहरूले “संविधानको रक्षा गरौँ” र “संसद विघटन गर्न पाइँदैन” जस्ता नारा लगाउँदै सडक प्रदर्शन गरेका थिए। उनीहरूले अहिलेको संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया र नेतृत्वबारे बहस सुरु भएको छ। तर, यसबीचमा विभिन्न शक्ति केन्द्रहरूले राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
प्रदर्शनकारीहरूले जेन–जी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्दै संविधान र संवैधानिक प्रक्रियाबाट नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा, अहिलेको संविधान र व्यवस्थालाई जोगाउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।















