२०८२ कार्तिक २३ गते, आईतवार ०७:५५

राज्य सुरक्षाविहीन:कीर्तिपुरवासी आफैं गस्तीमा

काठमाडौं-

नेपालभर भदौ २३ गतेबाट सुरु भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी एवम प्रशासनिक संरचनाहरुमा आगजनी भएपछि अवस्था अस्तव्यस्त छ । सरकार विरोधी आन्दोलनले मुलुकभर अस्थिरता ल्याएको छ । सर्वसाधारणहरुले असुरक्षित महशुस गर्न थालेका छन् ।
राजधानी काठमाडौँसहित विभिन्न सहरमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हालसम्म ३३ जनाको ज्यान गएको र सयौं घाइते छन् ।
सरकारी कार्यालयदेखि प्रहरी चौकीसम्ममा आगजनी र तोडफोड भएपछि देशमा सुरक्षाको रिक्तता बढ्दै गएको छ र प्रहरी, प्रशासन तथा नेतृत्वविहीन अवस्थाले स्थानीयलाई नै सजग हुन बाध्य बनाएको छ ।

तर कीर्तिपुरका बासिन्दाले भने आफ्नै पहलमा सुरक्षा गर्ने काम थालेका छन् । राति गस्ती गर्ने, पालैपालो टोली बनाएर गाउँ टोलमा चहार्ने र कुनै घटना नहोस् भनेर सतर्कता बढाएका छन् ।

वडानम्बर ३ का सिद्धिमान महर्जनले देशमा सुरक्षाको हिसाबले चुनौती बढेको कारण स्थानीयहरुले सुरक्षाको दस्तावेज बनाएर ९ बजेदेखि १२ बजेसम्म मिलेर गस्ती गर्ने गरेको बताए ।

उनले भने, ‘देशमा अहिले शून्यताको अवस्था छ । हामी आफैंले राति ९ बजेदेखि १२ बजेसम्म पालैपालो गस्ती गर्छौं । हालसम्म हाम्रो क्षेत्रमा लुटपाटको कुनै घटना भएको छैन । आन्दोलनकर्ताले उठाएका माग जायज छन् तर आगजनी र संरचना तोडफोड भने अस्वीकार्य छ ।’

यस्तै, उपेन्द्रराज श्रेष्ठले आन्दोलनको दोस्रो दिनको घटना घुसपैठ गरेर उग्र बनाइएको हुनसक्ने बताए ।
‘हाम्रो नगरपालिकादेखि सांसदको घरसम्म जलाइयो, प्रहरी चौकी जलाइयो, डीएसपी कार्यालयबाट हतियारसमेत बोकेर लगिएको छ ।

यस्तो अवस्थामा प्रहरी आफैं सुरक्षा दिन नसक्ने भएपछि हामीले पालैपालो दिनरात गस्ती सुरु गरेका छौं,’उनले भने ।
श्रेष्ठले आन्दोलनको मर्मलाई समर्थन गर्दै ‘पुरानो अनुहार र पुरानो सोच’ हटाउन आवश्यक भएको बताए तर सार्वजनिक सम्पत्ति जलाउनु भने गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘यो जुन आन्दोलन भयो त्यो गर्न आवश्यक नै थियो, सधैँ त्यही वृद्ध अनुहार मात्र कति हेर्नु । पूरानो अनुहार र सोचलाई परिवर्तन गर्नैपर्ने थियो, त्यसकारण जेनजीलाई धन्यवाद दिन चाहन्छु । तर यो आगो लगाउने काम जुन भयो त्यो मलाई ठिक लागेन ।

किनभने त्यो भनेको त आफ्नै सार्वजनिक सम्पत्ति हो ।’स्थानीय सरसफाई अभियानकर्ता कृष्णभक्त महर्जनले पनि आन्दोलनले ल्याएको रुपान्तरणलाई धन्यवाद दिए ।

तर आन्दोलनकै बहानामा चोरी, लुटपाट हुने सम्भावना भएकाले उनीहरू सतर्क भएर रातिदेखि नै गस्तीमा खटिएको बताए । उनका अनुसार, हालसम्म प्रत्यक्ष लुटपाट नभएपनि सिसिटिभी फुटेजमा केही संदेहास्पद गतिविधि देखिएको छ ।

उनले भने, ‘जेनजीहरुले गरेको कामको लागि म धन्यवाद दिन चाहन्छु । यो देशको लागि एउटा रुपान्तरण आवश्यक थियो र अहिलेको युवाहरुले त्यो रुपान्तरण गरेर देखाएका छन् । सुरक्षाको लागि आन्दोलन भएको दिनदेखि नै सुरक्षाको लागि भनेर आफै खटिएका छौ ।

कोही केही गर्न आईहाल्यो भने हामी सतर्क हुनुपर्छ भनेर उठेका छौं । किनभने यो समयको फाइदा उठाएर चोरी गर्ने काम हुन सक्छ । त्यसकारण यस्तो बेला सजक हुनुपर्छ भनेर नगरपालिकाभित्र पनि कुराहरु उठाइ रहेका छौ ।’

त्यसैगरी, स्थानीय महिला लिला मान्धरले आन्दोलनमा निर्दोष युवाको ज्यान गएको घटनामा दुःख व्यक्त गरिन् । ‘शान्तिपूर्वक आन्दोलन गर्नुपथ्र्यो । तर सरकारी भवन जलाउनु भने हाम्रै सम्पत्ति जलाउनु हो । अब सबैले शान्ति र सुरक्षामा बस्नुपर्छ ।’

उनले भनिन् । मान्धरका अनुसार, अहिले स्थानीय वासीहरूले आफैं सरसफाइदेखि गस्तीसमेत मिलेर गरिरहेका छन् ।
युवाहरु रोजगारी र अवसर नपाएर आन्दोलनमा उत्रिएको भएपनि आन्दोलन हिंसात्मक बनेकामा कीर्तिपुरवासी माधव विश्वकर्माले असन्तुष्टि जनाए ।

‘सरकारी भवनभित्र भएका कागजपत्रहरू नै भ्रष्टाचार प्रमाणित गर्ने साधन थिए, ती जलाउन हुन्न थियो । अहिले त त्यही प्रमाण नष्ट भयो । यसले भ्रष्टाचारीलाई सजिलो बनाइदियो,’ उनले भने ।

सुरक्षा निकाय कमजोर हुँदा लुटपाटको डर बढेको उनले बताए ।
काठमाडौँ उपत्यकाको एउटा पुरानो शहर कीर्तिपुर अहिले स्थानीय सुरक्षा पहलको नमुना बनेको छ ।

प्रहरी, प्रशासन र सेनाले अझै नियन्त्रण नपाएको अवस्थामा त्यहाँका बासिन्दाले आफैं दस्ताबेज तयार गरी टोली बनाएर पालैपालो गस्ती गर्न थालेका छन् । यसले देखाएको छ, संकट र अस्थिरताको घडीमा पनि समुदाय आफैं उठेर शान्ति, सुरक्षामा भूमिका खेल्न सक्छ ।

पोडकास्ट सुन्नुहोस