२०८२ कार्तिक २३ गते, आईतवार ०९:२९

जेनजी आन्दोलनमा नेताहरूको घरमा जलेर २ खर्बसम्म नगद नष्ट भएको अनुमान

काठमाडौँ –

नेपालमा युवाहरूको नेतृत्वमा चलेको जेन जेड आन्दोलनका क्रममा प्रमुख ठूला दलका करिब ५० भन्दा बढी राष्ट्रिय, प्रादेशिक र स्थानीय नेताहरूको घर/निवास र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी हुँदा करिब १५० देखि २०० अर्ब रुपैयाँ बराबरको नगद नोट जलेर वा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

यो रकम देशभर चलनचल्तीमा रहेको नगदको २५–३० प्रतिशत हिस्सा हो। कोभिड–१९ महामारीपछि डिजिटल बैंकिङ कारोबार बढेपनि सहकारी संकटपछिको अनिश्चितताले गर्दा घरमै नगद थुपार्ने प्रवृत्ति बढेको थियो। विशेषगरी नेताहरूले कालो धन घरमै लुकाएको भन्ने आरोप यतिबेला थप प्रष्ट भएको प्रारम्भिक आकलन गरिएको छ।

आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र निवर्तमान ऊर्जामन्त्री दिपक खड्काको घरमा नगद जलिरहेको वा बाहिर बाँडिएको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। देउवा र प्रचण्डको निवासमा जलेको नोटको थुप्रो देखिएको छ भने अन्य नेताहरूको घरमा पनि यस्तै क्षति भएको आकलन गरिएको छ।

क्षतिको अनुमान कसरी ?

आर्थिक विज्ञहरूले विश्वभर प्रचलित विभिन्न अर्थशास्त्रीय विधि प्रयोग गरेर क्षतिको गणना गरेका छन् :

  • प्रत्यक्ष अनुभवजन्य साक्ष्य (टप–डाउन विधि) : आगजनी भएको घर, व्यावसायिक कारोबारको स्वरूप र नगद चलनलाई आधार मानेर १ खर्ब ६४ अर्बदेखि १ खर्ब ९७ अर्बसम्म क्षति भएको आकलन।
  • अनौपचारिक अर्थतन्त्रको आकार (माइक्रो गणना विधि) : आमनागरिकसँग रहेको करिब ४२५ अर्ब नगदमध्ये १५–२०% नष्ट भएको अनुमान, अर्थात् ६३ अर्बदेखि ८५ अर्बसम्म।
  • बटम–अप इकोनोमेट्रिक्स विधि : विगत तीन वर्षमा बजारबाट हराएको ३ खर्ब ३० अर्ब नगदलाई आधार मानेर १ खर्ब ९७ अर्बदेखि २ खर्ब ५५ अर्बसम्म क्षति देखाइएको।

यी सबै विधि समेट्दा औसत अनुमान करिब १ खर्ब ५० अर्बदेखि २ खर्ब रुपैयाँ नष्ट भएको देखाइएको छ, जुन विगतमा नेपाल राष्ट्र बैंकले बजारबाट हराएको भनिएको ३ खर्ब रुपैयाँको करिब ६७ प्रतिशत हो।

थप जोखिम

नष्ट भएका नोटहरू पुनः छाप्नुपर्ने भए २५–३० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर यति ठूलो परिमाणमा नयाँ नोट छाप्दा मुद्रास्फीति बढ्ने जोखिम भएकाले तत्काल प्रतिस्थापन सम्भव नहुने र कम्तिमा २–४ वर्ष लाग्न सक्ने बताइएको छ।

आन्दोलनको मानवीय मूल्य

जेनजी आन्दोलनका क्रममा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ भने करिब १७०० जना घाइते भएका छन्। मंगलबार र बुधबार मात्र करिब १०० नेताहरूको घर/निवास र १०० व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको थियो।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढले पनि शुक्रबार मध्यान्हसम्म अन्तरिम सरकारको खाका तयार हुन सकेको छैन।

पोडकास्ट सुन्नुहोस