२०८२ भाद्र ३० गते, सोमबार १८:०३

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो :मन्त्री अर्याल

काठमाडौं-

गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् ।

सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ । आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ ।’

यस्तै, उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिती आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘कतिको दाहासंस्कार हुन बाँकी छ, कति घाइते हुनुहुन्छ । खासगरि जेनजीहरुको यसमा अगुवाई रहेको थियो । देशमा अहिले शोकको परिस्थिती छ । तर भ्रष्टाचाररहित समाज हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । सुशासन कायम गर्ने र समृद्धि ल्याउने भनेर राष्ट्रिय रुपमा जुन विषय उठेको छ, यसलाई राष्ट्रपतिले पनि स्वीकार गरेर अगाडि बढ्न एउटा अन्तरिम नागरिकको सरकार बनेको छ ।’

सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ ।

उनले भने, ‘देशको प्रमुख अंगको रुपमा रहेका कार्यालयहरु नै क्षति भएको छ । काम गर्न पनि समस्याहरु आएको छ । मर्मत वा पुननिर्माण गरेर अगाडि बढ्न पनि चुनौती छ । सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुन्छ । साथै आन्दोलनकारीहरु को पनि माग छ ।’

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस