वीरगन्ज-
वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ। अस्पतालको बाल सघन कक्ष (एनआईसियु)सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर)मा बिहान ४ बजे आगलागी सुरु भएको हो।
स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा लिइएको हो।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिनुभयो। यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्षति पुगेको छ। के–के सामग्री जलेका छन् र के–के बाँकी छन् भन्ने विषयमा तत्काल भन्न नसकिने उहाँले बताउनुभयो।
अस्पतालका कर्मचारीका अनुसार पुरानो विद्युत् तारमा बढ्दो लोडका कारण आगलागी भएको हुन सक्छ।
न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ। हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन्।