जनकपुरधाम-
नेपाल रेल्वे कम्पनी लिमिटेडले आफ्नो कम्पनीलाई व्यावसायिक र नाफामूलक बनाउनका लागि कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ। भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो यात्रुवाहक रेल सेवाका साथै अब कार्गो सेवा पनि सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
भारत सरकारको करिब १० अर्ब रुपैयाँ लागतमा मर्मत तथा निर्माण भएको यो रेल सेवा अहिले जयनगरबाट जनकपुर हुँदै बिजलपुरासम्म यात्रुहरूलाई सेवा दिइरहेको छ। तर, कम्पनीले यात्रुवाहक रेल मात्र चलाएर नाफामा जान सम्भव नभएको भन्दै नेपाल सरकारलाई पटक–पटक कार्गो सेवा सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो।
कम्पनीका महाप्रबन्धक निरञ्जन झाले निकट भविष्यमा नै कार्गो रेल सेवा सञ्चालनमा आउने बताएका छन्। उनले अहिलेकै रेलमा बोगी थपेर वा नयाँ रेल नै खरिद गरेर कार्गो सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
यसका लागि भारतको सहयोगमा महोत्तरीको रामनगर तथा बर्दिवाससम्म रेल्वे सेवा विस्तार गरी नयाँ स्टेशनहरू निर्माण गर्ने काम पनि अगाडि बढेको महाप्रबन्धक झाले बताए। भारतको कलकत्ता बन्दरगाहदेखि नेपालमा सस्तो दरमा सामान ढुवानी गर्नका लागि कार्गो सेवा सञ्चालन गर्न यस क्षेत्रका व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए।
कार्गो रेल सेवा सञ्चालन भएपछि मालसामान ढुवानीका लागि सस्तो र सहज हुने भन्दै जनकपुरधामका व्यवसायीहरू खुसी व्यक्त गरेका छन्।