वीरगन्ज-
भारतमा उत्पादित र नेपालमा प्रतिबन्धित रजनिगन्धा तस्करी गरी मुलुकका विभिन्न स्थानमा सप्लाई गर्दै आएका कुख्यात तस्कर गौतम चौरसिया फेरि विवादमा परेका छन् ।
वीरगन्ज–८ माईस्थान निवासी चौरसियाले समाजसेवी एवम् वीरगन्ज–७ बस्ने महेशराम चौरसियामाथि निरन्तर अभद्र भाषा प्रयोग गर्दै गालीगलौज गरेपछि उनी आफैं पिटाइ खाएको घटना सार्वजनिक भएको छ ।
पर्साबाट निर्वाचित नेपाली कांग्रेसका नेता एवम् तत्कालीन कानुन मन्त्री अजय चौरसियाको घर युवाहरुको आन्दोलनका क्रममा जलेपछि, तस्कर गौतम चौरसियाले मन्त्री चौरसिया र उनका आफन्तलाई सार्वजनिकरूपमा आमा–चकारी शब्द प्रयोग गर्दै गाली गर्न थालेको बताइएको छ ।
महेशराम चौरसियाले भने, “गौतम र म पहिले देखिनै चिनजान छ । हामी दुबै एउटै जाति र समाजका मानिस हौँ । मन्त्री चौरसियाको आफन्त बस्ने ठाउँमा गएर मन्त्रीलाई आमा चकारी गाली गर्नु मलाई कुनै दृष्टिकोणले मानवीय वा व्यवहारिक लागेन । त्यसैले मैले उनलाई मन्त्रीलाई जे भन्नु छ भन्नुस् तर परिवारको सदस्यको अगाडि खानदानको नाम राख्दै अपशब्द प्रयोग नगर्नुस् भनेर सम्झाएको थिएँ,” उनले बताए ।
तर, उक्त घटनापछि पनि गौतम चौरसियाले व्यवहार नबदलेको महेशरामको भनाइ छ । उनले थपे, “भोलिपल्ट सडकमा भेट्दा पनि उनले मलाई आमा चकारी गाली गर्न थाले । मैले यो कुरा उनको आफन्तलाई समेत जानकारी गराएँ र किन मलाई गाली गर्दैछन् भन्ने बुझाइदिन आग्रह पनि गरेँ ।”
गत बुधबार पुनः विवाद चुलिएको महेशरामले जनाए । “म आफनो छोरासँग तरकारी किन्न बजार गएको थिएँ । गौतम आफ्नो पसल बन्द गरी बाहिर कुर्सीमा बसेका रहेछन् । मलाई देख्नेबित्तिकै उनले मेरो छोराको अगाडि आमा चकारी गाली गरे । त्यस्तो अवस्थामा मैले आफुलाई रोक्न सकिनँ र दुई–चार झापड लगाएँ,” उनले भने ।
महेशरामले थपे, “कुनै पनि व्यक्तिलाई अनावश्यक रूपमा तपाईँले गालीगलौज गर्दै हिंड्दा त्यसको प्रतिकार हुन्छ । छोराको अगाडि मेरो आमा–बुबालाई कसैले गाली गर्दा सहनै सकिँदैन ।”
महेशरामका अनुसार, विवादकै क्रममा गौतमको स्टाफले आक्रमण गर्न खोज्दा उनको छोरा शिवम राम चौरसियाले रोकेका थिए । तर, उल्टै उनीहरुमाथि नै जाहेरी दिइएको बताए ।
उनले सिकडी र पाँच लाख रुपैयाँको विषयमा समेत प्रश्न उठाउँदै भने, “पाकेटमा ५ लाख रुपैयाँ कसरी अट्छ ? यो कुरा उनको आफैंले बनाएको हल्ला हो । मैले उनलाई पिटेको सिसिटिभी फुटेजमै प्रस्ट देखिन्छ ।”
गौतम चौरसिया यसअघि पनि रजनिगन्धा तस्करी प्रकरणमा पटक–पटक प्रहरीले पक्राउ गरिसकेको र उनको अवैध गोदाममा प्रहरीले छापा मारिसकेको तथ्य सार्वजनिक छ ।
महेशराम चौरसियाले भने, “वीरगन्जलाई थाहा छ, उनी कति निच मानिस हुन्, मैले भन्नै पर्दैन । तर एउटा प्रतिष्ठित व्यक्तिलाई यस्तै गर्ने काम कति जायज हो ? प्रहरीले जाहेरी दर्ता गर्नु अघि वास्तविकता बुझ्नुपर्छ, सोधपुछ गरेर यथार्थ थाहा लिनुपर्छ भन्ने मेरो आग्रह हो,” उनले जोड दिए ।