२०८२ आश्विन २० गते, सोमबार १३:५१

जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार

जनकपुर-

जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।

जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा प्रत्येक वर्ष लाग्ने मेलामा रहेको झुला भाँचिएर ५६ जना फँसेका थिए ।

उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीलगायत स्थानीय क्लब र युवाहरुको सहयोगमा उद्धार गरिएको छ ।

करिब पाँच घण्टासम्म चलेको उद्धार कार्यमा निर्माणस्थलमा प्रयोग हुने क्रेन प्रयोग गरी नेपाली सेनाले फँसेका ५६ जनाको उद्धार गर्न सफल भएका थिए ।

उद्धार कार्य राति१२ बजेसम्म चलेको थियो । उद्धार गरिएकोमा २० जना महिला र ३६ जना पुरुष रहेका थिए ।

झुला भाँचिएर ५६ जना फँसेपछि राजदेवी मन्दिरमा हुने भनिएको हिजो र आजका कार्यक्रमहरु स्थगित गरिएको छ । भाँचिएको झुलुवालाई खोल्ने र पुनः सुचारु नगरिने निर्णय गरिएको आयोजक महावीर युवा कमिटिले जानकारी दिएको छ ।

प्रांगणमा रहेका अन्य स–साना झुलालगायत मनोरञ्जनका ट्रेन, ब्रेक डान्स, स्प्रिङ पनि बन्द गर्ने कि सुचारु गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको कमिटिले जनाएको छ ।

आयोजक कमिटिले प्रत्येक वर्ष लाखौं रुपैयाँ ठेक्का लगाएर मेला लगाउने गरेको छ । तर पहिलो पटक यस किसिमको घटना भएको हो ।

पोडकास्ट सुन्नुहोस