२०८२ आश्विन २० गते, सोमबार १३:४८

सडक छेउमा मृत भेटिए रमेश

वीरगन्ज-

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं. ३ जयमंगलापुरमा शुक्रबार विहान एक २७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको टिहुनी झलमहिया–भिष्णु सडक खण्डमा अवस्थित वडा कार्यालयभन्दा सय मिटर पश्चिममा रहेको पुल नजिकै वडा नं. ३ जयमंगलापुर निवासी रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

कानुको मृत्यु सवारी दुर्घटनामा परी भएको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको बी.आर.ए.एल १२७३ भारतीय नम्बरको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो।

कानुले चलाएको मोटरसाइकल उनको शव नजिकै रहेको र उनको शरीरमा कुनै घाउखट नभएकाले दुर्घटनै कारण हुन सक्ने बढी सम्भावना रहेको उहाँले बताउनुभयो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगि आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । कानुको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि एकिन साथ भन्न सकिने उहाँले बताउनुभयो। आवश्यक अनुसन्धान पूरा भएपछि मृतक कानुको शव परीक्षणका लागि वीरगन्ज ल्याइने प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन अहिले बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।

पोडकास्ट सुन्नुहोस