काठमाडौं —
जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ नेतृत्वको समूहले मंगलवार अपरान्ह काठमाडौंस्थित जिल्ला प्रहरी परिसरमा पुगेर पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गरेको छ।
समूहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री रमेश लेखक, एमाले नेता महेश बस्नेत, र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतका नेताहरूलाई जेन–जी आन्दोलनको क्रममा दमनकारी भूमिका खेलेको आरोपमा पक्राउ गर्नुपर्ने माग राखेका हुन्।
यसअघि माईतीघर मण्डलामा जेन–जी समूहले उक्त नेताहरूको नाम र तस्वीरसहितको ब्यानर टाँसेर विरोध प्रदर्शन गरेको थियो। उनीहरूले आन्दोलनका घाइते र मृतकहरूलाई न्याय दिलाउन सरकार र सुरक्षा निकायमाथि दबाब सिर्जना गरिरहेका छन्।
जेन–जी समूहले विशेष रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै आन्दोलनलाई पुनः तीव्र बनाएको छ।
यसैबीच, तीन वटै सुरक्षा निकायसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार, प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन प्राप्त भएपछि मात्र जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ। त्यस क्रममा जाहेरी दर्ता गर्न पुगेका जेन–जीका प्रतिनिधिहरूलाई प्रहरीले फर्काएको जनाएको छ।