वीरगन्ज-
वीरगन्जको मुख्य बसपार्क नजिकै रहेको भानुचौकस्थित एक होटलमा मङ्गलबार साँझ बुवा र छोरा मृत अवस्थामा फेला परेका छन् । घटना शाह पाराडाइज नामक होटलमा भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरू भारतको वेस्ट बंगाल भुवनेश्वरका नागरिक रहेको खुलेको छ । उनीहरूको परिचय सजल आचार्य (वर्ष ६७) र उनका छोरा सागर आचार्य (वर्ष २४) रहेको प्रहरीले जानकारी दिएको छ ।
होटल प्रशासनका अनुसार बुवा-छोरा गत १९ गतेदेखि होटलको कोठा नम्बर १११ मा बस्दै आएका थिए । मङ्गलबार करिब ४ बजेसम्म पनि उनीहरू खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन जाँदा घटनाबारे जानकारी भएको एक कर्मचारीले बताएका छन् ।
घटनास्थल पुगेका पर्सा प्रहरीका डिएसपी किसोर लमसालका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना बुवा सजन आचार्य ओछ्यानमा मृत देखिछन् भने छोरा सागर आचार्य होटलको पङ्खामा झुन्डिएको अवस्थामा देखिएको छ ।
प्रहरीले खबर पाउने बित्तिकै घटनास्थलमा टोली परिचालन गरी अनुसन्धान सुरु गरेको डिएसपी लमसालले जानकारी दिए । उनले भने, “हामी विस्तृत रूपमा अनुसन्धान गरिरहेका छौँ । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्नेछ ।”