२०८२ आश्विन २२ गते, बुधबार १५:२९

महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

काठमाडौं-

नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।

‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।

उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।’

बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुले आफूहरुको घर जलाएको बताए ।

उनले भने, ‘हाम्रो घर जलाउनको लागि रास्वपाका कार्यकर्ता आएका छन् । यी सबैको एक–एक हिसाब हामीले राखिरहेका छौं ।’

उनले आन्दोलनमा केही व्यक्तिहरू ‘मतियार’ का रूपमा प्रयोग भएको दाबी गर्दै बालेन शाहले पछि आन्दोलनमा सहभागीहरूलाई त्यागेको टिप्पणी गरे । ‘जब आन्दोलनको ठूलो आँधी बेहोरी आयो, त्यसपछि बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा धकेलियो। अहिले हर्क साम्पाङ धरानदेखि कराउँदैछ,’ उनले भने ।

बस्नेतले जेनजीले प्रारम्भमा शान्तिपूर्ण आन्दोलन गरेको र भ्रष्टाचार तथा ‘नेपो बेबी’ विरुद्ध अभियान चलाएको स्वीकार गरे । तर, आन्दोलनमा घुसपैठ भएको उनको भनाई छ ।

उनले भने, ‘जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए । भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध अभियान चलाएका थिएँ। त्यसको विरोध गरेका थिए । तर बिचमा घुसपैठ भएको थाहा भएपछि उनीहरुले नै प्रदर्शनकारीलाई फिर्ता हुन आग्रह गरे। तर, ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो ।’

पोडकास्ट सुन्नुहोस