२०८२ आश्विन २२ गते, बुधबार १५:२४

वीरगन्जमा भारतीय नागरिकको शंकास्पद मृत्युप्रति भारतीय दूतावासको बेवास्ता

वीरगन्ज-

वीरगन्जस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा भारतका दुई नागरिक मृत अवस्थामा फेला परेपछि पनि भारतीय दूतावासले कुनै चासो नदेखाएको आरोप लागेको छ।

मंगलबार राति भारतको वेस्ट बंगाल, भुवनेश्वरका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य होटलको कोठा नम्बर १११ मा मृत अवस्थामा फेला परेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। होटल सञ्चालकका अनुसार मृतक भारतीय नागरिक भएकाले प्रहरीले वीरगन्जस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै तत्काल प्रतिनिधि पठाउन आग्रह गरेको थियो।

तर, दूतावासले राति भएको कारण देखाउँदै प्रतिनिधि पठाउन नसक्ने र भोलिपल्ट पठाउने जानकारी दिएको होटल सञ्चालकले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालका अनुसार, दूतावासको प्रतिनिधि नआए पनि कानूनी प्रक्रिया अगाडि बढाइएको छ।
“मुचुल्का तयार पारेर शव फरेन्सिक परीक्षणका लागि पठाइएको छ,” डिएसपी लम्सालले बताए।

उनका अनुसार, कोठाको ढोका खोलेर हेर्दा छोरा झुन्डिएको अवस्थामा र उनका बुबा ओछ्यान नजिक मृत फेला परेका थिए। घटनास्थलमा संघर्ष भएको संकेत पाइएकाले यो शंकास्पद मृत्यु भएको बताइएको छ।

पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
यस घटनाप्रति स्थानीयवासीहरूले भारतीय दूतावासको उदासीन व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन्।
“आफ्नै नागरिकको सुरक्षाका लागि स्थापना गरिएको दूतावासले मृत आफ्ना नागरिकप्रति समेत बेवास्ता गर्नु दुःखद र गैरजिम्मेवार व्यवहार हो,” स्थानीयहरूले प्रतिक्रिया दिएका छन्।

पोडकास्ट सुन्नुहोस