२०८२ आश्विन २३ गते, बिहीबार २२:१२

मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

जनकपुरधाम –
मधेश प्रदेशमा नेपाली कांग्रेसले नेकपा (एमाले) र जनमत पार्टीको समर्थनसहित नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेको छ। बुधबार कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा दर्ता गराएका हुन्।

संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि असोज २२ गतेको सूचना अनुसार दाबी पेश गरिएको कांग्रेसले जनाएको छ। उक्त दाबीमा कांग्रेसका नेता यादवसहित एमालेका नेता सरोज कुमार यादव र जनमत पार्टीका नेता महेशप्रसाद यादवको हस्ताक्षर गरिएको छ।

पत्रमा कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना सांसदको समर्थन उल्लेख भए पनि बीचमा लोसपाका ८ जना सांसदलाई समेत समेटेर ६६ जना सांसदको समर्थन रहेको विवरण छ।

तर, प्रदेश प्रमुख हाल प्रदेश बाहिर भएकाले र उनले दाबी पेश गर्न आह्वान नगरेकाले उक्त पत्र आधिकारिक रूपमा दर्ता नभएको प्रदेश प्रमुखका सल्लाहकार टीकाराम उप्रेतीले बताएका छन्। उनका अनुसार दलका नेताहरूले पत्र बुझाए पनि “प्रदेश प्रमुखले सरकार गठनका लागि कुनै आह्वान गर्नुभएको छैन।”

यसअघि कांग्रेस, एमाले, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित चार दलीय गठबन्धनको सरकार रहेको थियो। तर, मुख्यमन्त्री सतीश कुमार सिंहले राजीनामा नदिएपछि र लोसपाले नेतृत्व दाबी गरेपछि कांग्रेस–एमाले–जनमतले नयाँ गठबन्धन बनाएर सिंह सरकारलाई समर्थन फिर्ता लिएका हुन्।

एमालेका मन्त्रीहरूले बुधबारकै मन्त्रिपरिषद् बैठकमै राजीनामा दिएर बाहिरिएका थिए। एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहको पक्षमा अब लोसपाका ८ जना सांसद मात्रै बाँकी रहेका छन्।

स्रोतका अनुसार सिंहले बिहीबार राजीनामा दिने वचन एमालेका सांसदहरूलाई दिएका छन्। सिंहले यसअघि जेन–जी आन्दोलनको क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए, तर पछि फिर्ता लिएका थिए।

नयाँ सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन तयार भइसकेको भए पनि मन्त्रालय बाँडफाँटको विषयमा अन्तिम सहमति बाँकी रहेको जनमत पार्टीका नेता महेश यादवले बताएका छन्। उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, एमाले र जनमतले चार–चार मन्त्रालय पाउने सहमति नजिक पुगेको छ।

एमालेका नेता सरोज कुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय लिने पक्का भएको बताइएको छ भने अन्य तीन मन्त्री नयाँ हुने जनाइएको छ। कांग्रेसले आफ्ना मन्त्रीहरू नयाँ अनुहारबाट चयन गर्ने तयारी गरेको छ।

मधेश प्रदेशमा कुल १०७ जना सांसद रहेका छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस (२२), एमाले (२३) र जनमत (१३) गरी ५८ जनाको समर्थनले कांग्रेस नेतृत्वको सरकार गठनका लागि बहुमत पुगेको देखिन्छ।

पोडकास्ट सुन्नुहोस