२०८२ आश्विन २५ गते, शनिबार १९:२१

खोप अभियानलाई सफल बनाउन पर्सामा ८ हजार भन्दा बढी जनशक्ति परिचालन

वीरगन्ज-

पर्सा जिल्लाका १४ वटा पालिकामा हैजा विरुद्धको विशेष खोप अभियान सञ्चालन गर्न ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने भएका छन्। पर्सा जिल्लाको समुदायस्तरमै फैलिएको हैजाको महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने विशेष अभियानलाई सफल बनाउन ८ हजार ३ सय ६४ जना जनशक्ति परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

जनस्वास्थ्य कार्यालयले शनिबार वीरगन्जमा आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका क्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा जिल्लाका खोप संयोजक जयमोद ठाकुरले यस्तो जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र नेपाल सरकारको अगुवाइमा सञ्चालन गर्न लागिएको हैजा विरुद्धको ८ दिने विशेष खोप अभियानलाई सफल बनाउन पर्सा जिल्लामा रहेका १ हजार ९ सय ५१ खोप केन्द्रमार्फत ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप खुवाउने तयारी गरिएको छ।

पर्सा जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ८ सय १९ जना स्वास्थ्यकर्मी र ३ हजार ६ सय ६८ जना स्वयंसेवकलाई परिचालन गरी १ लाख १६ हजार १ सय १८ घरधुरीमा रहेका एक वर्षमाथिका सबैलाई हैजा विरुद्धको खोप खुवाउने तयारी भएको अधिकृत ठाकुरले जानकारी दिनुभयो। उहाँले असोज २६ गतेदेखि सुरु हुने हैजा विरुद्धको विशेष खोप अभियानको शुभारम्भ जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुखलगायतका कर्मचारीहरूलाई खोप खुवाएर गर्ने तयारी भएको पनि बताउनुभयो।

नेपाल पत्रकार महासंघका सचिव विजय चौहानको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. पवन उपाध्यायले खोप सुरक्षित रहेको जानकारी दिनुभयो। उहाँले बारा र पर्सा जिल्लामा फैलिएको हैजाको महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न एक मात्र उपाय खोप अभियान नै भएकाले खोप कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गर्नुभयो।

पर्सामा असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म विशेष खोप अभियान सञ्चालन गरिने भए पनि बारा जिल्लाका ६ वटा पालिकामा यो अभियान असोज २७ गतेदेखि सुरु हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

पोडकास्ट सुन्नुहोस