वीरगन्ज –
वीरगन्ज महानगरपालिका वडा नम्बर ४ स्थित रेल्वे रोडमा रहेको कित्ता नम्बर ५५३ को ३ कठ्ठा १० धुर जग्गामा आफ्नो स्वामित्व रहेको भन्दै ललितपुर महानगरपालिका निवासी दुई जना महिलाले हकदावी गरेकी छन्।
काठमाडौँको ललितपुर महानगरपालिका वडा नम्बर १८ निवासी शोभा रानी चिपालु र वडा नम्बर २ निवासी सरिता चिपालुले ५५३ नम्बर कित्ताको जग्गामा आफूहरूको हक रहेको दाबी गर्नु भएको हो।
भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा बुधबार उपस्थित भई शोभा रानी चिपालु र सरिता चिपालुले आफ्ना पिता नारायण बहादुर चिपालुको नाममा दर्ता रहेको साविक गाविस छपकैयाको वडा नम्बर ९ (हाल वडा नम्बर ४) स्थित सलाई फ्याक्ट्री नजिकैको कित्ता नम्बर ५५३ को ३ कठ्ठा १० धुर जग्गा आफूहरूको नाममा कायम गर्न निवेदन पेस गरी सनाखत गर्नुभएको हो।
तत्कालीन सलाई फ्याक्ट्रीको पूर्वमा रहेको ४० फिटे सडकको पश्चिमतर्फको उक्त जग्गा आफ्ना पिताको नाममा रहेको र आफू दुई बहिनी उनीकै सन्तान भएकाले उक्त जग्गा आफ्नो नाममा कायम गर्न निवेदन दिएको सरिता चिपालुले गोप्यखबरसँग कुरा गर्दै जानकारी दिनुभयो।
उहाँले दि जुद्ध म्याच फ्याक्ट्री लिमिटेडको नाममा उक्त जग्गा भएको भ्रम सिर्जना गरे पनि, सो जग्गा आफ्ना पिताको नाममा दर्ता रहेको र त्यसको जग्गाधनी पुर्जा समेत आफूहरूकै कब्जामा रहेको बताउनुभयो।
सलाई फ्याक्ट्रीको जग्गा नाममा विभिन्न भ्रम सिर्जना गरी आफ्नो जग्गा हडप्ने प्रयास भइरहेको जानकारी पाएपछि २०८० साल भदौ २ गते नै मालपोत कार्यालय पर्सामा निवेदन दिएको र सो निवेदनको सनाखत प्रक्रिया आज पुनः सम्पन्न गरी जग्गा आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाइएको शोभा रानी चिपालुले बताउनुभयो।
रेल्वे रोडमा रहेको सलाई फ्याक्ट्रीको जग्गालाई प्लटिङ गरी बिक्री गर्न विभिन्न चलखेल भइरहेको सुनेपछि आफ्ना क्लाइन्टका नाताले उक्त जग्गालाई पिताको नाममा ल्याउनका लागि वीरगन्ज आएको अधिवक्ता भीमसेन केसीले जानकारी दिनुभयो।