२०८२ आश्विन ३० गते, बिहीबार १८:४९

मधेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिए

जनकपुरधाम-
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री सोनलले बिहीबार एक विशेष समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल बुधबार साँझ पाँच दलका ५६ सांसदको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सोनलले बुधबार बिहान प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसदको समर्थन रहेको उल्लेख थियो।

बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त गरेपछि प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनललाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए। आठ वर्षको अवधिमा उनी मधेश प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।

पोडकास्ट सुन्नुहोस