वीरगन्ज-
हैजा विरुद्धको खोप वितरणमा उल्लेख्य प्रगति हासिल गरेको स्वास्थ्य कार्यालय पर्साले दाबी गरेको छ।
पर्सा जिल्लामा रहेका १४ वटै पालिकामा पछिल्ला ८ दिनभित्र ५ लाख ४७ हजार ३ सय ११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको स्वास्थ्य कार्यालय पर्साले दाबी गरेको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक जयमोद ठाकुरले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन भएको विशेष खोप अभियान अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा लक्ष्यको ८४ प्रतिशत व्यक्तिलाई हैजा विरुद्धको खोप खुवाइएको दाबी गर्नुभएको छ।
ठाकुरले सार्वजनिक गर्नुभएको तथ्यांक अनुसार, वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा पछिल्ला ८ दिनभित्र २ लाख २६ हजार १ सय ६६ जनालाई खोप खुवाइएको छ भने, पोखरिया नगरपालिकामा ३१ हजार ४ सय ८१ जना, बहुदरमाई नगरपालिकामा ३४ हजार ८ सय ३३ जना र पर्सागढी नगरपालिकामा ३४ हजार ८ सय ६१ जनालाई खोप वितरण गरिएको छ।
त्यसैगरी, पर्साको ठोरी गाउँपालिकामा १४ हजार ३ सय ५० जना, जिराभवानी गाउँपालिकामा १७ हजार २ सय ९६ जना, पटेर्वासुगौली गाउँपालिकामा ३० हजार २ सय ३२ जना, सखुवा प्रसौनी गाउँपालिकामा ३१ हजार ३ सय ८० जना, कालिकामाई गाउँपालिकामा १९ हजार ३० जना, धोबीनी गाउँपालिकामा १९ हजार ५५ जना, छिपहरमाई गाउँपालिकामा २६ हजार ९ सय ४ जना, कपहामैनपुर गाउँपालिकामा १७ हजार ९ सय २ जना र बिन्दवासिनी गाउँपालिकामा २२ हजार ४ सय ३३ जनालाई खोप वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
१ हजार ३५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका १ हजार ९ सय ५१ वटा खोप केन्द्रमा परिचालन गरिएका ८ हजार ३ सय ६४ जना जनशक्ति मार्फत ६ लाख ५२ हजार १ सय २९ जनालाई हैजा विरुद्धको खोप खुवाउने लक्ष्य राखिएकोमा सो मध्ये ८४ प्रतिशत जनसंख्यालाई खोप वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
महामारीको रूपमा फैलिएको हैजालाई पूर्ण रूपमा नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकारले पर्सा जिल्लाका १४ वटा पालिकाका लागि ६ लाख ६५ हजार र बारा जिल्लाका ६ वटा पालिकामा वितरण गर्न ३ लाख ५३ हजार थान खोप पाएको अधिकृत ठाकुरले जानकारी दिनुभयो।