२०८२ पुष ९ गते, बुधबार २३:१५

वीरगन्ज भन्सार कार्यालयद्वारा ५८ अर्बभन्दा बढी राजस्व संकलन

वीरगन्ज-
देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज भन्सार कार्यालयले ५८ अर्बभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा कार्यालयले ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा १२ प्रतिशत अर्थात् ६ अर्ब ४० करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा ५१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

कार्यालयले गत आवको पहिलो त्रैमासिकको तुलनामा बढी राजस्व संकलन गरे पनि विभागले तोकेको लक्ष्य भने पूरा गर्न सकेको छैन। चालु आवको पहिलो तीन महिनाका लागि विभागले ६५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो, जसको ८९ प्रतिशत मात्र संकलन गर्न कार्यालय सफल भएको छ।

वीरगन्ज नाकाबाट नेपालका लागि हुने मालबस्तुको कारोबारमा केही सुधार देखिए पनि कोरोना महामारीअघिको अवस्थामा भने पुग्न नसकिएको कारण विभागले तोकेको राजस्व लक्ष्य हासिल गर्न नसकिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

पोडकास्ट सुन्नुहोस