काठमाडौँ-
हाल पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रही विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपात हुन सक्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, तराईका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा बदली रहँदै वर्षा–हिमपातको क्रम जारी रहन सक्ने बताइएको छ ।
विभागले विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ ।
यता, काठमाडौं उपत्यकामा सोमबारदेखि नै मौसम बिग्रिएको छ । मंगलबार बिहान फाटफुट वर्षा भए पनि निरन्तर वर्षा हुन नसकेको जनाइएको छ । मौसम बदलीसँगै उपत्यकामा जाडो एक्कासी बढेको छ ।














