२०८२ कार्तिक २२ गते, शनिबार १८:५१

पकहाॅंमैनपुरमा जेनजी युवा समूह गठन, अध्यक्षमा भगवान कुर्मी चयन ,भ्रष्टाचारविरुद्ध खबरदारी कार्यक्रम गर्ने निर्णय

पर्सा –

पर्साको पकहाॅंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक सम्पन्न गरी क्रियाशील जेनजी युवा समूह गठन गरिएको छ।पालिका स्तरमा गठन गरिएको उक्त समूहको अध्यक्षमा भगवान कुर्मी सर्वसम्मत रूपमा चयन भएका छन्।

शुक्रबार गाउँपालिकाको युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय कमिटी गठन गरेको हो। नयाँ कमिटीमा अध्यक्ष कुर्मी सहित नितेश यादव, अकाश पटेल, चंदन पटेल, संदिप चौहान, बलिस्टर कुशवाहा, उतम कुमार, अकाश पासवान, आशिष साह, मुकेश मुखिया, अरबिन्द सहनी, सतेन्द्र साह, सिकेन्द्र सहनी, राम विश्वास सहनी, अकाश पटेल, बिश्णु पटेल लगायतका युवाहरू सदस्य रहेका छन्।

बैठकले गाउँपालिकाभित्र बढ्दो भ्रष्टाचार, अनियमितता, पक्षपात र गैरजिम्मेवार जनप्रतिनिधि प्रवृत्तिको विरोधमा सशक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।नव–निर्वाचित अध्यक्ष भगवान कुर्मीले भने,“अब मौन रहने समय सकिएको छ। जनताको करले उठेको पैसा पारदर्शी रूपमा खर्च हुनुपर्छ। विकासका नाममा भइरहेको अनियमितता र हिनामिना अब सह्य हुने छैन।”

उनले जेनजी युवा समूहले सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न युवाहरूको नेतृत्वमा जनचेतना र निगरानी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकले आगामी सोमबार पकहाॅंमैनपुर गाउँपालिकामा खबरदारी कार्यक्रम आयोजना गर्ने र गाउँपालिकाका प्रमुख तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ। उक्त ज्ञापनपत्रमार्फत योजनाहरूको विवरण सार्वजनिक गर्न, खर्चमा पारदर्शिता ल्याउन र जनप्रतिनिधिहरूलाई जवाफदेही बन्न आग्रह गरिनेछ।

वक्ताहरूले पछिल्लो समय पालिकामा विकास योजनाको असमान वितरण, मनोमानी खर्च र अनियमित निर्णयका कारण स्थानीयहरू असन्तुष्ट रहेको बताएका थिए। युवाहरूले अब यस्ता प्रवृत्तिविरुद्ध संगठित रूपमा अघि बढ्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।

युवा समूहको कदमप्रति स्थानीय बासिन्दाहरूले स्वागत जनाउँदै भने,“युवाहरूको यो एकता गाउँमा सुशासन र विकासको नयाँ दिशातर्फ प्रेरक बन्नेछ।”बैठकमा राजेश सहनी, प्रमोद राज पटेल, मोटर बरनवाल, रामवावु चौरसिया, रामशेवक पडित लगायत स्थानीय बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा सञ्जालका पदाधिकारी तथा जेनजी युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस