वीरगन्ज-
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको असंवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै आज वीरगन्जमा सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।
वीरगन्जको घण्टाघर चोकमा भेला भएका नेताहरूले सरोजकुमार यादवको असंवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
स्वास्थ्य उपचारको बहानामा जनकपुरस्थित प्रदेश प्रमुखको क्वाटरबाट काठमाडौंका लागि हिँडेकी प्रदेश प्रमुख भण्डारीले संविधानको मर्म विपरीत होटलमा गुपचुप रूपमा एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी संघीयतालाई कमजोर बनाएको भन्दै सात दलले विरोध गरेका हुन्।
वीरगन्जको घण्टाघर चोकमा अपराह्न आयोजित विरोध कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एस), राष्ट्रिय उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नेताहरू सहभागी थिए। उनीहरूले संविधानको धारा ८२ को उपधारा (२) अनुसार मुख्यमन्त्री पदका लागि सातदलीय गठबन्धनको सिफारिसमा नियुक्त गर्न माग गरेका थिए।
विरोधमा सहभागी नेता तथा कार्यकर्ताहरूले “संघीयता समाप्त गर्न पाइँदैन, असंवैधानिक मुख्यमन्त्री खारेज गर” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले प्रदेश प्रमुखले संविधान मिची नियुक्त गरेको मुख्यमन्त्री खारेज नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरे। उनले सयौं वीर मधेसीको शहादतबाट प्राप्त संघीयतालाई समाप्त पार्ने प्रयास प्रदेश प्रमुखले गरेको आरोप लगाए।
त्यसैगरी, राष्ट्रिय उन्मुक्ति पार्टीका सह–महासचिव नेजामुदिन समानिले असंवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा भएको तोडफोड तथा कर्मचारीमाथिको हातपातको सम्पूर्ण जिम्मा प्रदेश प्रमुखले लिनुपर्ने बताए। उनले संविधान विपरीत भएका कार्यको विरोधमा कार्यालय पुगेका नेता, कार्यकर्ता र सर्वसाधारणले प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध आवाज उठाएको स्पष्ट पारे।














